८.१ भौतिक विकास योजना कार्यान्वयन गर्ने प्रयोजनको लागि प्राधिकरणले समय समयमा स्पष्टरूपले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी योजना क्षेत्रभित्र पर्ने सोही सूचनामा तोकिएको क्षेत्रमा देहायका काम कुराहरू आवश्यकता अनुसार नियमित, नियन्त्रण वा निषेध गर्न सक्नेछ र त्यसरी नियमित, नियन्त्रण वा निषेध गरिएका काम कुराहरू प्राधिकरणको पूर्व स्वीकृति विना कसैले गर्न गराउन हुँदैन ः–
८.१.१ प्राकृतिक सम्पदा, पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थलहरू, ऐलानी जग्गाहरू एवं अचल सम्पत्तिको उपभोग र प्रयोग गर्ने,
८.१.२ आवादी तथा पर्ति जग्गाहरू भू–उपयोग योजना अनुरूप उपभोग वा प्रयोग गर्ने,
८.१.३ कुनै प्रकारको भवन निर्माण गर्ने वा निर्माण भैसकेका भवनहरूको विस्तार गर्ने,
८.१.४ कुनै प्रकारको वस्ती वा बसोवास बसाउने वा मनोरञ्जन स्थल, बजार, हाट, उद्योग आदि बसाल्ने वा बनाउने,
८.१.५ प्राकृतिक सौन्दर्य, पर्यटन स्थल वा जनसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा कुनै प्रकारले वातावरण दुषित हुने काम गर्ने,
८.१.६ बाटोघाटो, पुल, यातायातको साधन, पानी, बत्ती, टेलिफोन लाइन आदि प्रयोग गर्ने ।
८.२ दफा ७ वा उपदफा ८.१ बमोजिम प्राधिकरणले कसैको अचल सम्पत्तिको भोग चलनमा कुनै किसिमको बन्देज लगाउँदा सार्वजनिक हितलाई ध्यानमा राखी सर्वसाधारण जनतालाई उपयोगी हुने भएमा मात्र बन्देज लगाउन सक्नेछ र त्यस्तो बन्देज सम्बन्धी निर्णय गर्दा वा तत्सम्बन्धी सूचना वा आदेश जारी गर्दा त्यस्तो सार्वजनिक हित हुने कुरा समेत स्पष्ट खुलाउनु पर्नेछ ।
८.३ उपदफा ८.१ को प्रयोजनको लागि प्राधिकरणले स्वीकृति दिंदा आंशिक वा पूर्ण रूपले स्वीकृति दिन वा नदिन सक्नेछ वा स्वीकृति दिंदा आवश्यक शर्त समेत तोकिदिन सक्नेछ ।
८.४ योजना क्षेत्रभित्रको कुनै अचल सम्पत्तिको तथ्याङ्क लिन वा सर्भे गर्नको लागि कसैको जग्गामा प्रवेश गर्न वा सम्बन्धित व्यक्तिलाई बुझ्न प्राधिकरणलाई पूर्ण अधिकार हुनेछ ।